काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस)ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र मानिएका थापालाई एक साता अगाडि पक्राउ गरेको हो।

नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। सिलापत्रका अनुसार अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्। अमेरिकामा पक्राउ परेका उनको पार्टीको वेबसाइटबाट केन्द्रीय सदस्यको सूचीबाट नाम हटाइएको अन्नपुर्णपाेष्टले जनाएकाे छ ।

रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै विवादमा आएका थिए। लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको थियो। रास्वपाका तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाइदिने भन्दै थापाले पैसा मागेको दाबी गरेका थिए। थापाले लामिछानेको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना सार्वजनिक हुँदै आएकाे पनि अन्नपुर्णले उल्लेख गरेकाे छ ।

थापा यस अगाडि पनि मेरील्याण्डमा सवारी लाइसेन्स दुरुपयोग अभियोगमा जेल बसेका व्यक्ति हुन्। थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । उनीसँग ग्रीन कार्ड रहेको बताइएको छ । ग्रीन कार्ड भएको व्यक्ति लामो समय अमेरिका बाहिर बस्दा अध्यागमनले सोधपुछ गर्ने गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाका अनुसार थापाले यसअघि नै ‘व्यक्तिगत कानुनी प्रक्रियाहरू समाधान नहुँदासम्म’ केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएको बताएको नागरिकमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।