काठमाडाैं । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

अमेरिकी अधिकारीहरूका अनुसार युक्रेन र रुसबीच भइरहेको लडाइँ रोक्न अमेरिकाले प्रदान गरेको सैन्य सहायताले योगदान पुर्‍याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो।

ट्रम्पले जेलेन्स्कीलाई “तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको” आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए।

सोमवार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौतालाई समर्थन नगरेमा उनी लामो समय पदमा नरहन सक्ने टिप्पणी गरेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएकोबारे एउटा वक्तव्य सार्वजनिक गरेका छन्। – बिबिसी नेपालीबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।