काठमाडौं । देशलाई १८ घण्टे लाेडसेडिङबाट मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकाे छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले भने याे विषयलाई गाेप्य राखेका छन् । उनले हटाउने निर्णय सरकारलाई थाहा नभएकाे बताएका छन् ।
२०७३ सालको तिहारबाट काठमाडौं उपत्यकामा घरायसी लोडसेडिङ अन्त्य गरेपछि कुलमान उज्यालोको प्रतिक बनेका छन् । त्यसअघि १८ घण्टासम्म लाेडसेडिङ हुने गरेकाे थियाे ।
करिब साढे आठ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले अन्ततः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
सरकारले सुरूदेखि नै कुलमानलाई हटाउन पटक पटक स्पष्टिकरण साेध्दै आएकाे थियाे । व्यापारीबाट उठ्न बाँकी बक्याैता उठाउन कुलमानले ताकेता गरेपछि उनी सरकारकाे निशानामा परेका थिए ।
सरकारले प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त समेत गरेकाे छ ।







