काठमाडौँ । प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय दुई तिहाई बहुमतकाे दम्भ भएकाे बताएका छन् ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सोमबार साँझ सामाजिक सञ्जालमार्फत लोडसेडिङले मुलुक आक्रान्त भइरहेका बेला ऊर्जा विज्ञका रूपमा कुलमान आफू नेतृत्वको सरकारले पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएका छन् ।


‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ,’ उनले लेखेका छन् ।


उनले कुलमानले बक्यौता पैसा उठाउनुपर्छ भनेकै कारण उनलाई सरकारले पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि बताएका छन् ।


उनले अगाडि लेखेका छन्, ‘सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।