काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा भारतीय विदेश मन्त्रालय बोलेको छ । विदेश मन्त्रालयले शोक व्यक्त गर्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको जनाएको छ ।
केआईआईटीमा नेपाली विद्यार्थीको निधनबाट गहिरो दुस्ख व्यक्त गर्दै मन्त्रालयले यो कठिन समयमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
घटनाबारे जानकारी प्राप्त भएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ओडिसा राज्य सरकारले मृतकका परिवारसँग समन्वय गरिरहेको र प्रहरीले घटनामा जाँच गरिरहेको पनि मन्त्रालयको भनाइ छ ।
भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिएको भन्दै विदेश मन्त्रालयले नेपाली अधिकारी, ओडिसा राज्य सरकार र व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा बिहीबार फेला परेकी थिइन् । करिब दुई महिना अघि पनि सोही कलेजमा एक नेपाली छात्राले आत्महत्या गरेकी थिइन् ।