काठमाडौं । भिजिट भिसामा स्पेन गएकाबारे अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई विवरण बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र स्वदेश नफर्किएको विषय संसदमा उठेपछि सिआइबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको ६ सदस्यीय समितिले असार ३१ गतेदेखि छानबिन गरिरहेको छ।
सिआइबीले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सबैको विवरण माग गरेकोमा कार्यालयले उक्त विवरण बुझाएको छ।
अध्ययन समितिले अध्यागमनसँग मागेको विवरण प्राप्त भएको र अब यसलाई केलाउने काम हुने जनाएको छ ।
अब स्पेन गएकाहरूमध्ये वास्तविक रूपमा घुम्न गएका, कार्यक्रमका लागि गएका र कार्यक्रमको नाममा गएकाहरूबारे छानबिन हुने जनाइएको छ ।
सिआईबीले ट्राभल एजेन्सी र एनजिओहरूको पनि सूची बनाएर अनुसन्धान गरिरहेको जनाएको छ ।
स्पेनको उक्त कार्यक्रममा जान भनेर प्रधानमन्त्री नेतृत्वको भ्रमणदल बाहेक एक सय भन्दा बढीले भिसा पाएका थिए। ५५ जनाको टोलीले नक्कली कागजात बनाएको भनेर उड्नेबेलामा जहाजबाट फिर्ता गरिएको थियो।







