काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैल्याइएको बताएका छन् ।
पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्दै गरिएको प्रचार अहिले थप मलजल गरेर नेता कार्यकर्तामा भ्रम फैल्याइएको उनले उल्लेख गरेका छन् ।
मंगलबार साँझ फेसबुकमा ४ बुँदाको पोस्ट लेख्दै उनले माओवादी पार्टीबारे कार्यकर्ता र जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन् । गत वर्ष नै सबै प्रदेशमा परामर्श बैठक भएको र यसवर्षको असारदेखि मंसिरभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको उनले स्मरण गरेका छन् ।
हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग अभियानबाट बढेको पार्टीको शाख अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग दुई बुँदे सहमति गर्दै अडान छाडेको पनि उनले उल्लेख गरेका छन् ।
विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्यौलता, सांगठनिक अराजकता विधिविहीनताको अन्त्य गर्दै पार्टीको पुर्नगठन गर्ने उनको भनाइ छ ।







