मध्यपुर थिमि नगरपालिकाले सोमवार अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र बसोबास गरी अपांगता परिचयपत्र बाहकहरुलाई उनीहरुको आवश्यकतानुसारको सहायक सामाग्री वितरण गरेको हो ।
नगरपालिकाले एक थान चार पाङ्ग्रे स्कुटरसहित ३१ जनालाई सहायक सामाग्री वितरण गरेको नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले नगरपालिकाको आर्थिक स्रोतबाट लक्ष्मीभक्त भासिमालाई चार पाङ्ग्रे स्कुटर सहयोग गरेको बताए।
स्कुटरको २५ प्रतिशत मूल्य भासिमाले र ७५ प्रतिशत नगरपालिकाले ब्यहोरेर खरिद गरिएको भट्टले बताए । स्कुटर पाएपछि भासिमाले नगरपालिकालाई नजिकको सरकार भनेर सुनेको कुरा आज ब्यवहारमा अनुभूति भएको प्रतिक्रिया दिए ।
यसैगरी नगरपालिकाले एयर म्याट्रेस ३ थान, कमोड चियर ५ थान, व्हील चियर १० थान, डाइपर ३ थान, सेतो छडी १ थान, कृतिम खुट्टा २ थान, बैशाखी ५ थान, लाठी १ थान वितरण गरेको भट्टले जानकारी दिए ।
“नगरपालिकाको आन्तरिक श्रोतबाट करिब ६ लाख बराबरको सहायक सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो,” महाशाखा प्रमुख भट्टले भने । वडामार्फत माग भइ आएका सामाग्री नगरपालिकाले आफैंले खरिद गरी वितरण गरेको हो । यस अघि पनि ११ लाख रुपैयाँको सहायक सामाग्री वितरण गरिएको भट्टले जानकारी दिए ।
अपांगता सहायक सामाग्री वितरण गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सहायक सामाग्रीले अपांगता भएका व्यक्तिहरुको दैनिक जीवनयापन सहज हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदैं जाने बताए ।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले अपांगता भएका नागरिकहरुले पनि सहजरुपमा जीवनयापन गर्न पाउने अधिकार भएको बताउँदैं नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान अभिवृद्धि गर्न आगामी दिनहरूमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।








