बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् ।

शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो बताए ।

उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिएको बताए।

‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने –‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब ध्रुवीकरण जरुरी छ ।’ उनले भने ।

उनले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए। यी कुराहरु नबदलिदा राजाकै पालादेखिको दलाल पूजीँवाद प्रभावमा दलहरु फसेको उनले टिप्पणी गरे । भुसालले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए।

उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पीडामा रहेको बताए। उनले वामपन्थी आन्दोलनलाई धु्रवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए । परिस्थिती धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताए ।

उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए । ‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’ उनले भने ‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।