लालीगुराँस सहकारीले बचत फिर्ता नदिएपछि अदालतद्धारा जग्गा जमिन बेच्न सुरु

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेपछि बिगो भराएर बचतकर्ताकाे रकम फिर्ता गराउन अदालतले उसको नाममा रहेको जग्गा बिक्री कार्य अघि बढाएको छ ।

ललितपुर जिल्ला अदालतले लालीगुराँसको नाममा दर्ता जग्गा–जमिन डाँक (लिलामी) मार्फत बेचेर बचतकर्तालाई फिर्ता गर्न लागेको हो ।

सहकारीले बचत फिर्ता नदिएको भन्दै दुई जना बचतकर्ताले अदालतमा निवेदन दिएका थिए । अदालतले उनीहरुको पक्षमा फैसला गरेपनि सहकारीले बचत फिर्ता भने दिएन । त्यसपछि अदालतले सहकारीको नाममा भएको जग्गा जमिन बेचेर उनीहरुलाई क्षतिपूर्ति दिलाउन लागेको हो ।

अदालतको आदेशअनुसार प्रतिवादीहरूले तोकिएको समयमा अदालतमा उपस्थित नभएपछि नेपाल सरकारको राजस्व उठाउन तथा सहकारी पीडितलाई माग दाबी अनुसार बिगो भराउन लिलामी प्रक्रिया अघि बढाइएको छ ।

जारी सूचनामा ललितपुर महानगरपालिका, बोडिखेल क्षेत्रमा रहेका कुल पाँच रोपनीभन्दा बढी क्षेत्रफलका विभिन्न कित्ताका जग्गा बिक्रीका लागि खुला डाँक बोलाइएको छ । अदालतले डाँक लिलाम मिति २०८२ साल माघ ५ गते अदालत परिसरमा हुने जनाएको छ ।

लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसहित अध्यक्ष, सचिवलाई प्रहरीले यसअघि पक्राउ समेत गरेको थियो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर १५ माघमा स्पष्टीकरण सोधेको थियो ।

तर, सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।

सहकारीमा धेरै किसिमका कमजोरी पाइएको थियो भने बचत फिर्ता गर्ने स्पष्ट खाकासमेत सहकारीले पेस गरेको थिएन ।

यता, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लि.को बचतको अनलाईन मागदावी आवेदन मागिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।