आईभिएफको नाममा बात्सल्यमा लाखौं डुबाउनेहरुको कथा, यस्तो छ दर्दनाक ब्यथा

तस्बीरः सांकेतिक/एआई

काठमाडौं । आईभिएफ प्रविधिमार्फत बच्चा जन्माउने नाममा लाखौं डुबाउने निसन्तान परिवारहरु अनगिन्ती भेटिएका छन् ।

आईभिएफ सेन्टरहरुको आकर्षक विज्ञापन र बच्चा हुने प्रलोभनसँगै आफ्नो सन्तानको आशमा आईभिएफ सेन्टर पुग्नेहरुले कतिपयले खुसीको उपहार लिएर फर्कने गरेपनि सयौं व्यक्तिहरु आफ्नो सबै जायजेथा सिध्याएर बच्चा समेत नभएपछि रुँदै फर्कने गरेका छन् ।

कतिपयले सन्तानको आशमा लाखौं तिरेर छैटौं/साताैं पटकसम्म पनि प्रयास गरिरहेको पनि पाइएको छ ।

हेलोखबरले यसअघि आईभिएफमा पटक पटक पैसा तिरेर पीडित हुनु परेको र सरकारले निश्चित शुल्क नतोक्दा सेवाग्राहीहरु पीडित हुनु परेको विषय उजागर गरेको थियो ।

हेलोखबरको आधिकारिक टिकटक अकाउन्टमा राखिएको एक भिडियाे रिपोर्टमा हजारौंले यस विषयमा आफ्ना दुःखका कथाहरु सेयर गरेका छन् ।

हेमा चौधरीले राम्रो भनेर बात्सल्यमा गएको तर ठगि गरेकाले आफू रुदैं बस्नु परेको बताएकी छिन् । सन्जली तामाङले बात्सल्यले धेरै ठगेको दुखेको पोखिकी छिन् । अर्की सेवाग्राही पवित्रा बुढा मगरको पीडा पनि सन्जलीको जस्तै छ । उनी भन्छिन्– ‘बात्सल्यले मलाई पनि ठगेको छ ।’ सुनि राईले पनि त्यसमा समर्थन जनाएकी छिन् ।

बात्सल्यले ठगेको बताउने सन्जली अर्को एक आईभिएफ सेन्टरमा गएको र मेडिसिन प्रयोग गरेर नेचुरल बच्चा जन्मिएको बताउँछिन् ।

रावल जीको पीडा उस्तै छ । ‘बात्सल्य भनेकै ठगी धन्दा रैछ , मेरो पनि २२/२५ लाख खाई सक्यो अझैसम्म केही सुरसार छैन ।’ उनी भन्छन्– ‘त्यहाँ कोही पनि नजानु होला ।’

सिन्धु ढकाल पनि आफूले बात्सल्यमा १० लाख डुबाएको बताउँछिन् । ‘मसँग पैसो नै छ, नत बेबी नै छ, बात्सल्यले मलाई मारेको छ ।’

सिया श्रेष्ठ आफ्नो ३/४ जना आफन्तले बात्सल्यमा २/३ वर्षदेखि ट्रिटमेन्ट गर्दा पनि अहिलेसम्म बच्चा नभएको भन्दै दुःख पोख्छिन् ।

दिपिका थापाले पनि बात्सल्यमा सबै पैसा सकाएर पनि सफल नभएको बताउँछिन् भने शोभा नेपाली त २ पटकमा १२ लाख तिर्न बाध्य भएको जनाउँछिन् । अनिई लामा पनि त्यसमा सहमति जनाउँदै ‘हो हो बात्सल्यमा खर्च धेरै महंगो भएको जनाउँदै आफूलाई त लुट्न बसेको जस्तो लाग्ने’ गरेको बताउँछिन् ।

बिराजले पनि बात्सल्यमा १० लाख र हेमले १३ लाख सकाएको दुःख पोखेका छन् । निर्दोष खनाल पनि २० लाख खर्च गर्दा पनि बच्चा नभएको उल्लेख गर्छन् ।

बात्सल्य गएर खर्च गरेर सफल नभएपनि पछि मेडिसिन प्रयोगबाट सन्तान जन्माउन सफल सन्जली तामाङले सेवाग्राहीलाई सुझाव समेत दिएकी छिन् । ‘त्यो (बात्सल्य) त्यस्तै हो, छोरी मान्छेलाई मात्रै धेरै फोकस गर्छ, एकचोटी छोरा मान्छेलाई राम्रोसँग दबाई सेवन गर्नुहोला मेरो पनि त्यस्तै गरेको हो । इन्दिरा आईभिएफमा गएपछि मेरो श्रीमानले दबाई खानुभयो । एक महिनामै नेचुरल भयो । राम्रोसँग बुझेर मात्र जानुहोला नत्र पैसा सकिन्छ, समय खेर जान्छ अनि आफू रित्तै भइन्छ, बि कियरफुल ।’ उनले भनेकी छिन् ।

सरकारी हस्पिटलमा भईदिइयोस्
धेरै जनाले यस्तो सेवा सरकारी अस्पतालमा पनि हुनुपर्ने बताएका छन् । उनीहरुले यस्तो सेवा सरकारी अस्पतालमा भएमा कम खर्च र ठगिने सम्भावना कम हुने विचार व्यक्त गरेका छन् ।
लक्ष्मीले सरकारी अस्पतालमा राख्नुपर्छ यो सेवा । खै त सरकारको ध्यान भनेर सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

कतिपयले यो शुल्क नै चर्को भएको बताउने गरेका छन् । आईभिएफ पिच्छे फरक रहेकाले एउटा निश्चित शुल्क तोकिनुपर्ने उनीहरुको माग छ ।

अन्यत्र डुबाउनेहरुको पनि कमी छैन
बात्सल्यमा अत्याधिक मानिसले पैसा डुबाउने जनाए पनि अन्य आईभिएफ सेन्टरमा पनि पैसा डुबाउनेको कमी भने छैन । मनुले ब्लुक्रसमा ३० लाख सकाएको बताउँछिन् । पोखरामा पनि यस्तै समस्या रहेको गणेश तिमल्सिना बताउँछन् । भुपेन्द्रले नेपालगञ्जको एचआरसिमा ३५ लाख सकाएको बताउँछन् ।

हेलोखबरको इमेलमा एक व्यक्तिले विरगञ्जको सुर्य हस्पिटलमा पनि आईभिएफको नाममा पैसा उठाएर धेरै लुट्ने गरेको भन्दै अनुगमन गरिदिन आग्रह गरेका छन् ।

नियामक मुखदर्शक
स्वास्थ्य क्षेत्रको नियामक निकाय स्वास्थ्य मन्त्रालय भएपनि यस्ता गम्भीर विषयमा मुखदर्शक बन्ने गरेको छ । मन्त्रालयले बेलाबखत अनुगमन गर्ने गरेपनि त्यस्तो अनुगमन नाम मात्रैको हुने गरेको गुनासो छ । नीतिगत रुपमा गर्नुपर्ने विषयका साथै अन्य विषयमा सरकारको ध्यान जान सकेको छैन ।

के भन्छ, बात्सल्य ?
बात्सल्यले भने आफूहरुले कसैलाई पनि ठगि नगरेको बताएको छ । ‘हामीले सेवाग्राहीलाई सुरुमा नै सबै विषय स्पष्ट पारेका हुन्छौं । लाग्ने शुल्क लगायतमा परामर्श गरेका हुन्छौं ।’ बिजनेश डिपामेन्टमा आवद्ध सुनि निधिले भनिन् ।

बात्सल्यका नविन विष्ट आईभिएफको कुल खर्च बिरामीको अवस्था र आवश्यक उपचारको क्रममा प्रयोग हुने औषधीहरुमा निर्भर हुने बताउँछन् । उनले बात्सल्य बिरामीको आर्थिक बोझ कम गर्न प्रतिवद्ध रहेको बताउँदै यदि कुनै बिरामीले पहिलो प्रयास असफल भई फेरि चक्र दोहोर्याउनु परेमा सीमित शुल्क मात्र तिर्ने व्यवस्था गरेको बताउँछन् । तर, सेवाग्राहीहरुको गुनासो भने ठिक उल्टो रहेको पाइन्छ ।

याे पनि पढ्नुहाेस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।