काठमाडौं । सरकारले सात सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै जिम्मेवारीबाट हटाएर लोक सेवा आयोगमा सरुवा गरेको छ ।

यही सरकारले नै दंगाललाई रक्षा सचिवबाट सरुवा गरेर तीन महिनाअघि गृह सचिवको जिम्मेवारी दिएको थियो ।

गृह सचिवको जिम्मेवारी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई दिइएको छ । श्रेष्ठ प्रधानमन्त्री कार्यालय भन्दाअघि श्रेष्ठ लोक सेवा आयोगको सचिवको जिम्मेवारीमा थिए ।

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।