काठमाडौँ १ असार । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकारेका छन् ।
विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको घाँसी आदर्श नेपाल संस्थाले बुधबार आयोजना गरेको ‘पुनःनिर्माण अभियानको अनुभव र स्मारिक विमोचन कार्यक्रम’मा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई वर्ष अगाडि गएको भूकम्पले नौ हजार विद्यालय भत्के पनि विद्यालय पुनःनिर्माण भने सुस्त गतिमा भएको बताए ।
उनले भने, “नौ हजार विद्यालय भत्के पनि बल्ल एक हजार विद्यालय निर्माण भएको छ । यो साह्रै सुस्त गतिमा भयो ।”
पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा क्षेत्रको विकासका लागि घाँसी नेपालले गरेको सहयोग प्रसंशनीय रहेको बताए । उजले भने, “गैरसरकारी संस्थाले शिक्षालाई रोजेर काम गरेको छ यसलाई म सम्मान गर्दछु ।”
सांसद रामचन्द्र पोखरेलले बर्सेनि विदेसिने युवालाई स्वदेशमा रोजगार प्रदान गर्न रोजगारमूलक शिक्षा आवश्यक रहेको बताए ।
सांसद उमेश श्रेष्ठले देशको कुल बजेटको २० देखि २४ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगाइए पनि सोचेजस्तो प्रतिफल प्राप्त नभएको बताए ।