काठमाडौँ । सामाजिक सञ्जाल एक्समा आर्टिकल लेख्दा १० लाख अमेरिकी डलर अर्थात नेपाली करिब १४ करोड ५० लाखको पुरस्कार पाइने भएको छ ।
अर्बपति उद्यमी एलन मस्कको स्वामित्वमा रहेको एक्सले लामो आर्टिकल लेख्ने उत्कृष्ट क्रिएटरका लागि सो पुरस्कारको घोषणा गरेको हो । कम्पनीले आफ्नो आगामी ‘क्रिएटर पेआउट साइकल’ मा लामो लेखलाई प्रोत्साहन गर्न यो विशेष पुरस्कारको व्यवस्था गरेको हो ।
एक्सको आधिकारिक क्रिएटर अकाउन्टले जारी गरेको सूचनालाई रिपोस्ट गर्दै मस्कले यस प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् । कम्पनीले यसको मुख्य उद्देश्य समाजमा सार्थक बहस सिर्जना गर्ने, नयाँ समाचार ब्रेक गर्ने र संस्कृतिमा गहिरो प्रभाव पार्ने उच्च गुणस्तरका सामग्रीलाई पहिचान र सम्मान गर्नु रहेको उल्लेख गरेको छ ।
एक्सले प्लेटफर्मको वृद्धि विकासका लागि सन् २०२६ को मुख्य रणनीतिका रूपमा लामो लेखलाई अगाडि सारेको छ । यस लेख छनोट लगायतका विषयमा विस्तृत विवरण भने कम्पनीले सार्वजनिक गर्न बाँकी छ ।







