जेठ २६, काठमाडौं । नेपाली कांग्रेस बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच राना र चन्दलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति र थुप्रै राजनीतिक एवं सामाजिक संगठनहरुको नेतृत्वमा रहेका थिए । त्यसै गरी चन्द सुदुरपश्चिमका युवाहरु बीच लोकप्रिय नेता हुन्।
पार्टी प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘तपाईहरु सही समयमा सही पार्टी छनोट गरेर माओवादी केन्द्रमा आउनुभएको छ । मेरो विश्वास छ, तपाईहरुको पार्टी प्रवेशले कञ्चनपुर र सात नम्वर प्रदेशमा माओवादी केन्द्रको विजयलाई अझै सुनिश्चित गराएको छ । परिवर्तनका मुद्धाहरुका लागि संघर्ष गर्ने र कार्यान्वयन गर्ने पार्टी हुनुको नाताले पार्टीले तपाईहरुको भावना र योगदानको कदर गर्नेछ । अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरेर तपाईहरुको योगदानले सही नतिजा निकाल्नेछ भन्ने मेरो विश्वास छ ।’
पार्टी प्रवेश गर्दै रानाले माओवादी पार्टी नै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्ने र देशको नेतृत्व गर्ने पार्टी भएकाले आफू निस्वार्थ रुपमा माओवादी केन्द्रमा आएको बताए ।
Comments








