काठमाडौं २६ जेठ
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी गराउन राप्रपालाई बेवास्ता गरेका छन् । सरकारमा सहभागी गराउन चासो नदिँदा राप्रपाले भने दुःख व्यक्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह समेत गरेको छ।
नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ। राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो।
कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक काँग्रेस तथा नेकपा माओवादी केन्द्रसँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताए। पार्टीका प्रवक्ता भुवन पाठकले संसद्मा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइए सहभागिताका लागि मात्र सरकारमा नजाने बताए। सो पार्टीका ३७ सांसद् छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।