माछा, मासु क्षेत्रका सात फर्मको अनुगमनमा चारदोबाटोस्थित काठमाडौँ कोल्ड स्टोरबाट २४ किलो र व्यासीस्थित बाराही अजिमा कोल्डस्टोरबाट १९ किलो सडेगलेको मासु नष्ट गरियो । त्यस्तै अनुगमनका क्रममा विकेसा मिट शप देकोचा भक्तपुरको फ्रिजमा मासुजन्य पदार्थमा किरा परेको भेटिएकाले बिक्री वितरण बन्द गरिएको छ ।
सार्वजनिक यातायाततर्फ ५८ वटा सवारी साधन जाँच भएकामा साझा यातायातलगायत ३६ वटाले तोकिएको भन्दा बढी भाडा असुल गरेकामा यात्रुलाई तत्काल फिर्ता गरी प्रत्येकलाई रु पाँच हजार जरिवाना गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी चार वटा पेट्रोल पम्पको १६ वटा नोजल जाँच गर्दा जोरपाटीस्थित जिएमवी इन्टरप्राइजेजको मिटरमा कैफियत देखिएकाले बन्द गरियो ।
स्वास्थ्यसेवातर्फ ११ वटा फर्मको अनुगमन गरिएकामा सबै सामान्य अवस्थामा भेटिएको विभागले जनाएको छ । त्यसैगरी चार वटा खानेपानी उद्योगको अनुगमन गरी जारको पानीको नमुना सङ्कलन गरिएको छ ।
त्यस्तै २० वटा होटलको अनुगमन गर्दा सामान्य अवस्था रहेको पाइएको छ । बजार अनुगमनलाई विभिन्न छ विषयक्षेत्रमा केन्द्रित गरी काठमार्डौँ उपत्यकाको विभिन्न स्थानमा खटाइएको छ ।