काठमाडौं २५ जेठ
नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकलाई समेटेर बुधबार सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेपनि अन्य मन्त्री र मन्त्रालयको टुंगो लागिसकेको छैन ।
कांग्रेस र माओवादीले दोस्रो चरणमा मन्त्री बनाउनेहरुको लागि गृहकार्य भने सुरु गरिसकेका छन् ।
कांग्रेस र माओवादी केन्द्रबिच कांग्रेसलाई ११ वटा मन्त्रालय र माओवादीलाई ९ वटा मन्त्रालय बाड्ने सैद्धान्तिक सहमति भएको छ । कुन मन्त्रालय भन्ने बारेमा भने दुई दलका शिर्ष नेताबिच आपसी समझदारीमा टुंगो लगाउने सहमति समेत छ । माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य मणि थापाले अहिलेका लागि ९/११ वटा मन्त्रालय बाड्ने र अन्य दलको सहभागितालाई हेरेर घटबड गर्ने सैद्धान्तिक सहमति भएको बताए ।
दुई दलबिच मन्त्रालयको संख्यामा मोटामोटी सहमति जुटेपनि कुन मन्त्रालय कसलाई भन्ने विषयमा सहमति हुन बाँकी छ । दलभित्रै भने आकांक्षी बढी भएपछि विवाद मिलाउन भने हम्मे देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका मन्त्री बिना नै मन्त्री मण्डल विस्तार गरे । पौडेल पक्षधरले डा. रामशरण महतलाई उपप्रधान तथा अर्थमन्त्रीका रुपमा सिफारिस गर्ने तयारी गरिरहेको अवस्थामा देउवाले आफू पक्षलाई नै उपप्रधान र अर्थमन्त्री तोकेपछि पौडेल पक्ष रुष्ट छ । अर्थमन्त्री कांग्रेसभित्र आकांक्षी धेरै रहेको बेला ज्ञानेन्द्र कार्कीले जिम्मा पाएपछि यसमा समेत असन्तुष्टि बढेको छ ।
नेकपा माओवादी केन्द्रभित्र बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पक्षधरले गिरिराजमणी पोखरेलाई पार्टीको तर्फबाट सरकारको नेतृत्वसहित सरकारमा पठाउन चाहे पनि यसअघि पनि उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरालाई उपप्रधानसहित अर्थमन्त्री बनाएपछि नारायणकाजी समूह रुष्ट छ । सरकारको नेतृत्वमा टोपबहादुर रायमाझीले दाबी गर्दै आएकोमा उनको सम्भावना पनि टरेको छ । बुधबार सपथग्रहणसँगै पदबहाली गरेपछि प्रधानमन्त्री देउवा दाहाल निवास लाजिम्पाट पुगेर मन्त्रीमण्डल विस्तारकै विषयमा छलफल गरेका थिए ।
मन्त्रीका सम्भावित पात्रहरु
कांग्रेसबाट दोस्रो चरणमा समावेश हुने मन्त्रीहरुमा पौडेल समूहबाट उपप्रधान सहितको जिम्मेवारीमा डा रामशरण महतलाई पौडलले पठाउन चाहेका छन् । यसैगरी नेता महेश आचार्य समेत वरिष्ठ नेता पौडेलको रोजाइमा छन भने, रामकृष्ण यादव र नेता बलबहादुर केसी पनि चर्चामा छन । यस्तै गत पार्टीको महाधिवेशन पछि पार्टी भित्रै देउवाका सारथी बनेका सिटौला समूहलाई पनि देउवाले मन्त्रीमा लाने छन् । सो समूहबाट कांग्रेस काठमाडौका पूर्व सभापति समेत रही सकेका सांसद भिमशेनदास प्रधानलाई मन्त्री बनाउने चर्चा छ । यस्तै कांग्रेसबाट चर्चामा आउनेहरुमा मिन विश्वकर्मा, डिना उपाध्याय, अम्बिका बस्नेत, किरण यादव, ध्यानगोविन्द रञ्जित, वीरबहादुर बलायर, बहादुरसिंह थापा, भरत शाह, चन्द्र भण्डारी, ध्रुव वाग्ले, भीष्मराज आङ्देम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेतको चर्चा रहेको छ ।
माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा गिरिराजमणी पोखरेल र रेखा शर्मा सहभागी हुने चर्चा छ । यस्तै, दाहाल नेतृत्वका सरकारमा स्थानीय विकास मन्त्रालय सम्हालिरहेको अवस्थामा राप्रपालाई सरकारमा सहभागी गराउन मन्त्री पद त्याग गरेका हितराज पाण्डे पनि मन्त्री बन्नेको चर्चामा छन्, अघिल्लो सरकारमा कानुन मन्त्रालय सम्हाले चर्चामा आएका रामनारायण बिडारीको सम्भावना पनि उच्च छ ।
माओवादीभित्र शक्ति बस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेल, टेकबहादुर बस्नेत, शिव मण्डल, सीता नेपालीले मन्त्रीका लागि चासो राखेका छन् । बुधबार बिहान मन्त्री छनोटका विषयमा छलफल गर्न बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सुझाव मागेका थिए । बैठकले महरा, शर्मा र शाहलाई पहिलो चरणमा पठाउने निर्णय गरेको थियो । बाँकी मन्त्रीहरुमा समावेशी हुने गरी हरेक प्रदेशलाई समेटेर मन्त्री छनौट गर्नुपर्ने कार्यविधि बनाएको नेता मणि थापाले जानकारी दिए ।
Comments