Thursday, July 30, 2026
Home समाचार बाढी-पहिरोले आज पनि बिहानैदेखि अवरुद्ध छन् यी १० सडक

बाढी-पहिरोले आज पनि बिहानैदेखि अवरुद्ध छन् यी १० सडक

काठमाडाैं । अविरल वर्षासँगैको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्।

नेपाल प्रहरीका अनुसार अहिले देशका १० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।

यतिबेला काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने कान्तीलोकपथ पनि अवरुद्ध छ।

ललितपुरको बागमती गाउँपालिका ३ पाङदुरमा पहिरो खस्दा कान्तीलोकपथ गएको सोमबारदेखि नै पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी कान्तीलोकपथमै पर्ने मकवानपुरको हेटौँडा- ठिंगल सडकखण्डमा पनि बाढीपहिरोको कारण गाडी चलेका छैनन्।

त्यसैगरी काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी इलाममा मेची राजमार्ग, भोजपुरमा मध्यपहाडी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाँघु-रामेछाप सडक, रसुवामा त्रिशूली-मैलुङ- स्याफ्रुबेसीँ सडक, रुकुम पश्चिममा भेरी करिडोर सडक र जाजरकोटमा जाजरकोट- डोल्पा सडक पनि यतिबेला पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी बागलुङमा कालीगण्डकी करिडोर, गोरखामा आरुघाट-गोरखा सडक र भोजपुरमा मध्यपहाडी लोकमार्गमा पनि यतिबेला एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।