काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।

उनलाई बैतनिक विज्ञ सल्लाहकारमा नियुक्ति गरिएको स्रोतहरुको दाबी छ । यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । मन्त्रालयले अवैतनिक विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरिएको जनाएको छ ।

नेपाल फेस अनलाइनले पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता सहसचिव रामहरि पोखरेलको प्रतिक्रिया समावेश गर्दै झालाई अवैतनिक सल्लाहकार राखिएको उल्लेख गरेकाे छ । विशिष्ट श्रेणीसरहको नियुक्ति भएपनि अवैतनिक सल्लाहकारको भूमिकामा उनलाई राखिएको भनाई अनलाइनमा समेटिएको छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा नेपाली सेनाबाट अवकाश प्राप्त अधिकारीहरुको नियुक्तिलाई निक्कै महत्व दिने गरेको पाइन्छ । विषय विज्ञहरुलाई नियुक्तिमा प्राथमिकता दिने घोषणा गरेको सरकारमा सेनाका अवकाश प्राप्त अधिकारीहरुको नियुक्तलाई शंकाको रुपमा पनि हेरिने गरिएको छ ।

यसअघि गएको बैशाख ३० गते नेपाली सेनाको महासेनानी पदबाट २०७६ मा अवकाश पाएका डा. आनन्दसिह भाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष नियुक्त भएका थिए ।

नेपाल वायुसेवा निगममा पनि सेनाकै पूर्व उपरथी दीपकप्रसाद बाँस्तोलालाई कार्यकारी अध्यक्ष बनाउने प्रयास गरिएको थियो । उनलाई अध्यक्ष बनाउने उद्देश्यका साथ गत बैशाख ३१ गते निगमको संचालक समिति सदस्यमा नियुक्त गरिएको थियो । तर, न्यायालयले नै बास्तोलासहितका सदस्यहरुको छनोट प्रक्रिया नै त्रुटिपूर्ण भएको भन्दै नियुक्ति नै खारेज गरिदिएको थियो ।

यता, पूर्वाधार विकास मन्त्रीमा नियुक्त झाकाे सेनामा बहालमा हुँदा भने विकास निर्माण निर्देशनालयका निर्देशक तथा राष्ट्रिय गौरवको आयोजना मानिएको फास्ट ट्र्याक सडक निर्माणका प्रोजेक्ट डाइरेक्टरकाे रूपमा काम गरेको अनुभव छ । सरकारले सेनाका पूर्व अधिकारीलाई नियुक्तिमा प्राथमिकता दिँदै गर्दा विषय र विज्ञतालाई भने मिल्दोजुल्दो बनाएको पनि पाइन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।