काठमाडौं । रोल्पामा अविरल वर्षापछिको पहिरोमा परेर सात जनाकाे मृत्यु भएकाे छ । रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा अन्य ५ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ ।
पहिरोमा परी मृत्यु भएकामध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको हो ।
बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।
बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।




