Thursday, October 8, 2026
15.8 C
Kathmandu
Home समाचार बजार अनुगमन कडा पारिँदै: सहायक सीडीओ र इलाका प्रशासन प्रमुखलाई निरीक्षण अधिकृत...

बजार अनुगमन कडा पारिँदै: सहायक सीडीओ र इलाका प्रशासन प्रमुखलाई निरीक्षण अधिकृत तोकियो

काठमाडौं । सरकारले बजारमा हुने अनियमितता तथा उपभोक्ता ठगी नियन्त्रणका लागि जिल्ला र इलाका प्रशासन कार्यालयका अधिकारीलाई निरीक्षण अधिकृतको जिम्मेवारी दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्णय गर्दै सहायक प्रमुख जिल्ला अधिकारी तथा इलाका प्रशासन कार्यालयका प्रमुखलाई आफ्नो कार्यक्षेत्रभित्रको बजार अनुगमनका लागि निरीक्षण अधिकृत तोकेको हो।

विभागले केही दिनअघिकाे निर्णयअनुसार सम्बन्धित अधिकारीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ को उपदफा (१) तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को नियम २२ को उपनियम (२) बमोजिम निरीक्षण अधिकृत तोकिएको जनाएको छ।

विभागले उनीहरूलाई आफ्नो कार्यालयको कार्यक्षेत्रभित्र बजार अनुगमन गर्ने, निरीक्षण अधिकृतका रूपमा तोकिएको जिम्मेवारी निर्वाह गर्ने तथा बजार अनुगमनसम्बन्धी कार्यको प्रतिवेदन दैनिक रूपमा अनलाइन प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको छ।

विभागले अनुगमनका क्रममा प्रचलित उपभोक्ता संरक्षण ऐन, नियमावली तथा अन्य सम्बन्धित कानुनको पालना गर्नसमेत आग्रह गरेको छ।

विभागले सोसम्बन्धी जानकारी गृह मन्त्रालय तथा सम्बन्धित सबै कार्यालयको वेबसाइटमा उपलब्ध गराई समन्वय गर्नसमेत अनुरोध गरेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।