Tuesday, September 29, 2026
29.1 C
Kathmandu
Home प्रवास बेल्जियमको ब्रुज नगरपालिकाद्वारा नेपालका बाढीपीडितलाई २० हजार युरो सहयोग

बेल्जियमको ब्रुज नगरपालिकाद्वारा नेपालका बाढीपीडितलाई २० हजार युरो सहयोग

प्रज्ञा तिमिल्सिना

काठमाडाैं । बेल्जियमको ब्रुज नगरपालिकाले रसुवा, नुवाकोट र धादिङमा आएको बाढी तथा त्यसबाट प्रभावित परिवारका लागि २० हजार युरो सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम रेडक्रसमार्फत नेपाल पठाइनेछ।

नेपाली मूलकी बेल्जियम नागरिक तथा ब्रुज नगरसभा सदस्य प्रज्ञा तिमिल्सिनाको पहलमा नगरसभामा नेपाललाई सहयोग गर्न प्रस्ताव राखिएको थियो। सोही प्रस्ताव स्वीकृत गर्दै नगरपालिकाले २० हजार युरो सहयोग गर्ने निर्णय गरेको हो।

तिमिल्सिनाले नेपालमा आएको विपत्तिको समयमा सहयोगका लागि प्रस्ताव राख्न पाएको र प्रस्ताव स्वीकृत भएकोमा खुसी व्यक्त गरेकी छन्। उनले सहयोग सही ठाउँमा र सबैभन्दा बढी आवश्यकता भएका परिवारसम्म पुग्ने अपेक्षा पनि व्यक्त गरेकी छन्।

प्रज्ञा तिमिल्सिनाकाे वक्तव्य
म अहिले नगरसभाको बैठकमा छु। भर्खरै मैले नेपालका लागि सहयोग गर्न राखेको प्रस्ताव स्वीकृत भएको छ, जसअनुसार नेपालका लागि €२०,००० सहयोग गरिने भएको छ।

नेपालमा आएको विपत्तिको समयमा नेपालका लागि सहयोग गरौँ भनेर मैले नगरसभामा यो प्रस्ताव राखेकी थिएँ। आज मेरो त्यो प्रयास सफल भएको छ। यो मेरो लागि अत्यन्तै खुसी र गर्वको क्षण हो।

तर यो सफलता मेरो मात्र होइन, यो हामी सबै नेपालीहरूको सफलता हो। हाम्रो एकता, सहयोग र नेपालप्रतिको मायाले नै आज यो सम्भव भएको हो। त्यसैले हामी सबैलाई धेरै धेरै बधाई छ।

अब मेरो सबैभन्दा ठूलो इच्छा यही छ कि यो सहयोग सही ठाउँमा, सही मानिसहरूसम्म र सबैभन्दा बढी आवश्यकता भएका परिवारहरूसम्म पुग्न सकोस्।

यस विषयमा हजुरहरूलाई कुनै प्रश्न, जिज्ञासा वा थप जानकारीको आवश्यकता भएमा, म त्यसबारे स्पष्ट रूपमा जानकारी दिन र हजुरहरूका प्रश्नहरूको जवाफ दिन सधैँ तयार छु।

नेपाल आमाको जय होस्!
– प्रज्ञा तिमिल्सिना
नगरसभा सदस्य, ब्रुज


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।