काठमाडौं ९ जेठ
सरकारले स्थानीय तहको निर्वाचनका लागि भर्ना गरेको म्यादी प्रहरीको म्याद थप गरेको छ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले दोस्रो चरणको निर्वाचनसम्म म्यादी प्रहरीको म्याद थप गर्ने निर्णय गरेको हो ।
यसअघि ३१ वैशाखमा एकैचरणमा निर्वाचन मिति घोषणा गरिएकाले सरकारले पहिलो चरणको निर्वाचनसम्मलाई म्यादी प्रहरी भर्ना गरेको थियो ।
तर, दुई चरणमा निर्वाचन घोषणा भएपछि म्यादी प्रहरीको म्याद दोस्रो चरणको निर्वाचनसम्म थप भएको हो ।
सरकारले पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानुनका सहसचिव कौशलचन्द्र सुवेदीलाई नियुक्त गरेको छ ।
यस्तै, नेपाल पशु चिकित्सा परिषदको अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायण प्रसाद घिमिरेलाई नियुक्त गरिएको छ ।
त्यसरी नै दुग्ध विकास संस्थान सञ्चालक समितिको अध्यक्षमा रघुनाथ गौतम नियुक्त गरिएको र भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
Comments