काठमाडौं ३० वैशाख
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि स्थानीय तहको निर्वाचनको दिनलाई नेपालको लोकतान्त्रिक इतिहासको महाउत्वसको दिनको घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले निर्वाचनमा सबै मतदाताहरुलाई उत्साहपूर्वक मतदान गर्न अपिल गर्दै आज केवल मतदानको दिन मात्र नभएर नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि भएको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री दाहालले यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको  र स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगा भएको समेत बताएका छन् । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुने उनको भनाई छ ।
‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरे बमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही बैशाख ३१ गते हुदैंछ,’ निर्वाचनको पूर्वसन्ध्यमा प्रधानमन्त्री दाहालद्धारा देशवासीको नाममा जारी वक्तव्यमा भनिएको छ, ‘आइतबार प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा १३,५५६ जनप्रतिनिधि छनौट गर्ने कार्यको अन्तिम अवस्थामा छौं । स्थानीय तहको यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।’
प्रधानमन्त्री दाहालले जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत गर्न सक्ने भन्दै पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकोमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै भएको समेत उल्लेख गरेका छन् । ‘यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।’ दाहालद्धारा जारी वक्तव्यमा भनिएको छ ।
प्रधानमन्त्री दाहालले अहिलेको निर्वाचन पहिलो पटक भएको समेत दाबी गरेका छन् । ‘धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ प्रधानमन्त्रीको भनाई छ, ‘तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुँदैछ ।’
प्रधानमन्त्रीले यो निर्वाचन समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको पनि बताएका छन् । चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई जना महिला चुनिने व्यवस्था गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनीहरु अनिवार्य रुपमा चुनिएर आउने तथा गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुख मध्ये एक जना महिला उठाउनै पर्ने व्यवस्थाबाट पनि ठूलो संख्यामा महिलाहरु चुनिएर आउने अवसरको सिर्जना भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् – ‘यो भनेको शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ ।’
प्रधानमन्त्रीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको र नेपाल सरकारले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको स्पष्ट गरेका छन् । शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको भन्दै उनले सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न अनुरोध गरेका छन् ।
प्रधानमन्त्री दाहालले निर्वाचन सफल बनाउन सबैसँग अपिल गर्दै संविधानको स्वीकार्यता बढाई मधेशी, थारु, आदिवासी जनजाति लगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरमा गरिने जानकारी समेत दिएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।