काठमाडौं २० वैशाख

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सांसद योगेन्द्र घिसिङलाई साधारण सदस्यसमेत नरहने पार्टीबाट निस्कासित गरेको छ । माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेका घिसिङले  पार्टी विपरित काम गरेको भन्दै ललितपुर जिल्ला पार्टीले कारबाही गरेको हो ।
ललितपुरका बिभिन्न गाउँपालिकामा पार्टीको नीति र निर्देशनविपरित आफू निकटकालाई उम्मेदवारी दिन लगाएको पाइएकाले निस्काशन गरिएको माओवादी ललितपुरका संयोजक राजकाजी महर्जनले जानकारी दिए । घिसिङ माओवादी केन्द्रका ललितपुर जिल्ला समिति सदस्य हुन् ।
ललितपुर जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले घिसिङलाई निस्कासित गर्ने निर्णय गरेको हो । जिल्ला पार्टीले उनलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेपनि सांसद पदबाट हटाउने या नहटाउने भन्ने निर्णय हुन बाँकी छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीबाट निस्काशन भएको सुनेपनि आधिकारिक पत्र आइनसकेको र पत्र आएसँगै दलको बैठक बसेर आवश्यक निर्णय गरिने बताए । उनलाई सांसदबाट हटाउने नहटाउने बारे दलका नेतासँग छलफल गरेर दलको बैठकबाट हुनेछ, उनले भने ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।