काठमाडौं २९ चैत
सर्वोच्च अदालत र नेपाल सरकारले नेपाल प्रहरीको प्रमुख चयनमा डिआइजीहरुको कार्य सम्पादन मूल्यांकनको अंक फरक फरक परेको छ । सरकारले उपलब्ध गराएको नम्बरकै आधारमा सर्वोच्च अदालतले नम्बर जोडेपनि न्यायपालिका र कार्यपालिकाको फरक फरक जोड संख्या आएसँगै टसल अझै बढेर जाने समेत देखिएको छ ।
सरकारले प्रकाश अर्यालको नम्बर धेरै भन्दै आइजी बनाईसकेको छ । तर सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकनमा डिआइजी नवराज सिलवाललाई अगाडि देखाएको थियो । गत ८ चैतको सर्वोच्चको फैसलामा भनिएको छ, ‘कार्यसम्पादन मूल्यांकनअनुसार आर्थिक वर्ष ०६९/७० देखि ०७२/७३ सम्म चार वर्षको कुल औसत अंक हेर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको देखियो।’
तर, सरकारले गठन गरेको समितिले गरेको अध्ययनअनुसार कार्यसम्पादन मूल्यांकनमा १५४.२ नम्बरसहित अर्याल पहिलो स्थानमा र १५२.६७ सहित सिलवाल दोस्रो नम्बर छन् । त्यस्तै, बमबहादुर भण्डारीको १५०.०२ र जयबहादुर चन्दको १४७.३३ नम्बर छ ।
एउटै विषयमा न्यायापालिका र कार्यपालिका विवाद देखिएपछि अब सरकारको निर्णयलाई मान्यता दिने या अदालतले आफ्नो निर्णय नै अन्तिम हुने भन्दै बाँकी कार्य अगाडी बढाउने हो त्यो हेर्न भने बाँकी छ ।