धनगढी, २६ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त मधेसी मोर्चा सहमतिमा आए निर्वाचन दुई चरणमा गर्न सकिने बताएका छन् ।

आइतबार कैलालीको अत्तरियामा हुन लागेको काँग्रेसको सात नं प्रदेशस्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न शनिबार यहाँ आईपुगेका सभापति देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भएमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताएका हुन् ।

सभापति देउवाले मधेसी दलहरुसँग छलफल भइरहेको र उनीहरु सहमत भएमा मधेसका केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताए ।

“वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने कुरामा ढुक्क हुनुहोस्, अब कुनै हालतमा निर्वाचन रोकिँदैन,” उनले भने । मधेस, पहाड र हिमालमा बस्ने सबै नेपाली भएकाले कसैको चित्त दुखाउने काम र व्यवहारले राष्ट्रियता बलियो नहुने उनको भनाइ थियो ।

उनले आगामी निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।