काठमाडौँ, २७ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही चैत ३० गतेभित्र आधिकारिक हस्ताक्षर बुझाउन बाँकी रहेका सबै राजनीतिक दललाई आग्रह गरेको छ ।
आयोगमा आजसम्म ४४ राजनीतिक दलले आधिकारिक हस्ताक्षर बुझाइसकेको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन गर्दा सम्बन्धित दलको आधिकारिक हस्ताक्षर बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका ८० राजनीतिक दलमध्ये नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, थरुहट तराई पार्टी नेपाललगायत धेरैजसो दलले हस्ताक्षर बुझाएकाले बाँकी रहेका दललाई हस्ताक्षर बुझाउन आयोगले ताकेता गरेको हो ।
आयोगले हस्ताक्षर बुझाउन पहिलोपटक यही चैत २६ गतेको समयसीमा दिएकामा त्यो अवधिमा ३७ वटा दलले मात्र हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाउन बाँकी दललाई चार दिनको म्याद थप गरेको हो ।