काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेललाई कुनै पनि हालतमा कर छुट नदिने र राज्यलाई तिर्नुपर्ने करका विषयमा सम्झौता नहुने दृढता व्यक्त गरेका छन् ।

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा प्रधानमन्त्रीले भने, “एनसेलले राज्यलाई तिर्नुपर्ने कर तिर्नु पर्दछ । कुनै पनि सर्तमा छुट दिइँदैन, दिने भन्ने पनि हुँदैन । तर विगतमा कर नतिराई बिक्रेता किन भाग्यो वा भगाइयो भन्नेबारेमा पनि छानबिन हुन्छ र दोषीमाथि कारबाही गरिन्छ ।”

एनसेलको तत्कालीन प्रवद्र्धक टेलियाले मलेसियाली कम्पनी एक्जियटालाई स्वामित्व हस्तान्तरण गर्दा बिक्रीवापतको पुँजीगत लाभकर तिरेको छैन । रु एक खर्ब ४४ अर्बमा बिक्री भएको एनसेलले पुँजीगत लाभकर मात्रै रु ४३ अर्ब तिर्नुपर्ने देखिन्छ । तर हालसम्म कर तिर्न आनाकानी गर्दै आएको छ ।

प्रधानमन्त्रीले कर नतिर्नेलाई सबै उपाय अवलम्बन गरेर असुल गराउन सरकार प्रतिबद्ध रहेको र छिटोभन्दा छिटो कर तिराएरै छाडिने प्रतिबद्धता व्यक्त गरे ।

उनले मन्त्रिपरिषद्को बैठकमा सामान्य रुपमा चर्चा भएको विषयमा गलत र नकारात्मक तवरले टिप्पणी भएको भन्दै सरकारको मनसाय छिटोभन्दा छिटो कर तिराउन के गर्ने भन्ने मात्रै रहेको बताए ।

वैदेशिक लगानीको विषयमा समेत सकारात्मक प्रभाव पार्ने गरी ऐनसेलको करको विषय शीघ्र निरुपण गराउन सरकारको तर्फबाट गर्नुपर्ने सबै उपाय अवलम्बन गरिने र संसदीय समितिले दिएको निर्देशनको पूर्णरुपमा कार्यान्वयन गरिने उल्लेख गरे ।

सरकारले के भएको हो, किन कर तिर्ने विषयमा ढिला भइरहेको छ भनेर सम्बन्धित तालुकदार मन्त्रालय अर्थलाई ताकेता गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “राज्यले प्राप्त गर्ने कर सम्बन्धित पक्षले तिर्नुपर्छ । त्यसमा कुनै पनि प्रकारको मोलाहिजा हुँदैन । सरकारको प्रष्ट धारणा पनि विगतमा कर नतिराई किन छाडियो भन्ने छ । सो विषयमा हामी प्रष्ट छौँ ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।