काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन शुक्रबार हाइनान प्रान्तको बोआओ पगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा द्विपक्षीय एवम् क्षेत्रीय विकासलाई ध्यान दिएर चीनले अगाडि बढाउँदै आएको ‘एक क्षेत्र एक मार्ग’(ओबिओआर)का विषयमा नेपालले सहमति जनाउने र त्यस विषयमा चाँडै सम्झौता गरिने वचन दिएको भ्रमणमा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले राखेको उक्त विषयमा सहमति जनाउँदै चीनका उपप्रधानमन्त्री झाङले नेपालको आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । । नेपालले अपनाउँदै आएको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उनले पछिल्लो समयमा नेपालमा नयाँ संविधान जारी भएकामा खुसी प्रकट गरे । चिनियाँ उपप्रधानमन्त्रीले नेपालमा देखिएका समस्या नेपाली राजनीतिक दल एकापसमा मिलेर सल्टाउन सक्षम भएको पनि स्पष्ट गरे ।

उनले नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले आगामी दिनमा चीनले नेपालको ऊर्जा, रेल एवम् पूर्वाधारका क्षेत्रको विकासमा सहयोग गर्ने विश्वास दिलाए ।
प्रधानमन्त्री दाहालले बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार नै उनी बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।