काठमाडौं ८ चैत
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सफल हुने बताएका छन् ।
मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नायकले निर्वाचनलाई सफल बनाउन असन्तुष्ट पक्षलाई निर्वाचनमा समेटेर अघि बढ्ने विषयमा सरकारले प्रयास गरिरहेको पनि बताए ।
उनले नयाँ संविधानले निर्दिष्ट गरेको समयमै सबै काम गर्न कानुन मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताउँदै निर्वाचनमार्फत संविधानको कार्यान्वयन हुने कुरामा शंका नगर्न समेत आग्रह गरे ।
‘जतिखेर जुन कामको आवश्यकता हुन्छ त्यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ, निर्वाचन कुनै पनि हालतमा रोकिँदैन र रोक्नुहुन्न, यसका लागि सरकार गृहकार्यमा लागेको छ, उनले भने, सबैलाई राष्टिय एकता र सहमतिमा कसरी ल्याउने भन्ने विषयमा कसरत भइरहेको छ ।’
उनले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी विधेयक सरकारले समयमै आयोगलाई उपलब्ध गराएको बताउदै राजनीतिक दलसम्बन्धी विधेयकको थ्रेसहोल्डमा देखिएको विवाद केही दिनमै मिल्ने समेत बताए ।
। थ्रेसहोल्डमा तीन प्रमुख दलबीच सहमति भइसकेको भए पनि अन्य साना दलको माग र चासोलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हाल छलफल चलिरहेको उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डिल्लिराज घिमिरेले कानुन मन्त्रालयमार्फत हालसम्म भएका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी सचिव कमलशाली घिमिरेले निर्वाचन आयोगलाई कानुनको अभावकै कारण निर्वाचन गर्न समस्या पार्ने काम कानुन मन्त्रालयबाट हुन नदिने बताए ।
Comments








