काठमाडौं ८ चैत
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलका सांसदहरुलाई सिमांकन संशोधनको विषय बाहेकमा संविधान संशोधन गरेर ३१ वैशाखका लागि घोषणा गरिएको निर्वाचनमा जाने तयारी भइरहेको जानकारी गराएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल प्रधानमन्त्री बनेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकमा उनले प्रदेश सिमांकनको विषय स्थानीय तहको निर्वाचन पछि टुंगोमा लगाउने गरी तत्कालका लागि सिमांकन विवाद थाती राखेर जाने विषयमा छलफल सकरात्मक तरिकाले अघि बढीरहेको बताएका थिए ।
‘स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा ३१ वैशाखमा नै गर्ने हो,’ दाहालले भने, ‘संयुक्त मधेसी मोर्चाको माग सम्बोधनका लागि अन्य विषय अहिले नै पारित गर्ने हो तर सिमांकन संशोधन प्रदेश निर्वाचन अगाडी गर्ने गरी सहमतिका लागि छलफल भईरहेको छ ।’
प्रधानमन्त्री दाहालले सिमांकनको विषय अहिले अगाडी बढाउँदा संसदमा फेल हुने र राजनीतिक सहमति पनि जुट्न नसक्ने भएकाले स्थानीय तहको निर्वाचनपछि गर्नु उचित हुने देखिएकाले सोही अनुसार मोर्चासँग छलफल भईरहेको समेत बताएका थिए ।
प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमण महत्वपूर्ण रहेको भन्दै ऐतिहासिक बनाउने गरी तयारी भईरहेको समेत बताएका थिए । बैठकमा सांसदहरुले भने संसदीय दलको बैठक नियमति बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरेका थिए
बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले धारणा राखेको माओवादी नेतृ रेखा शर्माले जानकारी दिइन् ।
संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको बताए । बिहीबार पुनः संसदीय दलको बैठक बस्ने बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।