काठमाडौं ४ माघ
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेतृ विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकतका लागि वार्ता टोलि गठन गर्ने निर्णय गरेको छ ।
पार्टी स्थायी समितिको २ र ३ माघमा बसेको स्थायी समिति बैठकले नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु ऐतिहासिक आवश्यकता रहेको भन्दै वार्ता टोलि गठन गर्ने निर्णय गरेको हो ।
 ‘क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ ।’ बैठकपछि पार्टी महासचिव वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले विभिन्न दलसँग मिलेर राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ ।
वैद्य माओवादीले भारतीय पक्षले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको भन्दै कडा रुपमा विरोध समेत जनाएको छ । ‘लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ । हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भत्र्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।