काठमाडौं ७ चैत
प्रत्येक स्थानीय तहमा कम्तिमा पनि १५ शैय्याको एक अस्पताल स्थापना हुने भएको छ । सरकारले ७ सय ४४ वटै स्थानीय तहमा कम्तिमा १५ बेडको अस्पताल रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । यो निर्णय कार्यान्वयनमा आएसँगै अब ७ सय ४४ वटा स्थानीय तहमा कम्तिमा पनि एउटा १५ शैयाको अस्पताल हुने भएको छ ।
स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहमा नेपाल सरकारबाट खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न गठित सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपषिदको कार्यालयले संघीय संरचना अन्तर्गत स्वास्थ्य सेवा व्यवस्थापन गर्न कम्तिमा १५ शैय्याको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव दामोदर रेग्मीद्धारा जारी विज्ञप्तिमा सबै स्थानीय तहमा संविधान तथा स्वीकृत कार्यविस्तृतीकरण बमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नुका साथै कम्तिमा १५ शैय्याको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जनाइएको छ
अहिले स्थानीय निकायअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र र हरेक गाविसमा स्वास्थ्य चौकी रहँदै आएका छन् ।
सरकारले स्थानीय तह अनुसार शिक्षा क्षेत्रको व्यवस्थापन मिलाउन शिक्षा मन्त्रालयलाई पनि निर्देशन दिएको छ । स्थानीय तह व्यवस्था र सेवा प्रवाह कार्यारम्भ भै सकेकाले संविधान तथा नेपाल सरकारबाट स्वीकृत कार्यविस्तृतीकरण बमोजिम शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नु पर्ने भएकाले नगरपालिका र गाउँपालिका गरी ७ सय ४४ वटै स्थानीय तहमा उक्त कार्य गराउने व्यवस्था गराउन प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रलायलाई निर्देशन दिएको हो ।
सरकारले ७ सय ४४ स्थानीय तह पारित गर्दै राजपत्रमा सुचना समेत प्रकाशन गरिसकेको छ । जस अन्तर्गत ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहेका छन् ।