भीमदत्तनगर, २६ फागुन । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) का जवानले गोली चलाएका छन् । गोली लागि एक नेपाली युवकको ज्यान गएको छ ।
नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।
एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्ुमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।
पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो ।
Comments