काठमाडौँ, २४ फागुन । विभिन्न पार्टीका महिला नेत्रीले उचित अवसर तथा वातावरण प्राप्त भएमा आफूहरु देशको नेतृत्व लिन सक्षम रहेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले एकसय सातौँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा सहभागी नेत्रीले अबका महिला देशको नेतृत्व लिन सक्षम रहेको बताए ।

नेकपा (एमाले)की नेत्री एवम् पूर्वमन्त्री शान्ता मानवीले अबको युग भनेको पुरुष र नारी समानताको युग भएको बताउँदै महिलाले पनि पुरुषले सरह समान अवसर प्राप्त गरेको खण्डमा महिला पनि मुलुकको नेतृत्वका लागि सक्षम रहेको विचार व्यक्त गरिन् ।

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले पछिल्लो समय नारीको अध्ययन तथा सक्रियताका कारणले उनीहरु समाजको विभिन्न क्षेत्रमा योगदान गरिरहेको बताइन । अहिले संविधानले प्रत्याभूत गरेको महिला सहभागिता कायम गर्नसकेमा ठूलो उपलब्धि हुने बताउँदै उनले भनिन्, “दक्षिण एसियाकी पहिलो महिलामन्त्री द्वारीका देवी ठकुरानीदेखि लिएर मङ्गलादेवी, शैलाजा आचार्यलगायत नारीको देशका लागि असाधारण योगदान छ ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की नेत्री अमृता थापामगरले समाजमा संविधान बराबरी भनेर वकालत गरिए पनि गर्वबाटै छोरालाई अंश दिने र छोरीलाई पराइको घर जाने त हो भन्ने विभेदकारी सोचाइको अन्त्य गर्नुपर्नेमा जोड दिइन । “अबका नारीले मत हाल्ने मात्रै होइन, आफैँलाई चुन्ने अवस्थामा पुगेका छौँ” –उनले भनिन ।

मधेसी मोर्चाकी नेत्री डिम्पलकुमारी झाले समाजमा चल्दै आएका पितृसतात्मक सोचका कारण महिलालाई अहिलेसम्म पनि उपेक्षा गरिएकामा चिन्ता व्यक्त गर्दै राज्यका हरेक निकायमा महिलाको सहभागिता न्यून रहेको बताइन।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।