इटहरी २२ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्न चुनौती दिएका छन् ।
उनले समयमा नै स्थानीय तहको निर्वाचन गराउन खुट्टा नकमाउन सरकारसँग आग्रह समेत गरेका छन् ।
संविधान र निर्वाचनका लागि सो पार्टीको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत आइतबार इटहरीमा आयोजित जनसभामा नेता नेपालले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक विकासका लागि तीनै तहको निर्वाचन आवश्यक भएको भन्दै संविधानमा असन्तुष्ट दललाई पनि निर्वाचनमा माग लिएर जनतामा आफ्ना एजेन्डा राख्न आग्रह गरे । 
उनले भने, “तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्दा हुन्छ, हामी पराजित भएमा विजयीलाई माला र अबीर लगाउन तयार छौँ, हामीले जितेमा उनीहरुले माला लगाएर मैदान छाडिदिनुपर्छ ।” 
एमाले नेता सुवास नेम्बाङले संविधान संशोधनको माग गर्ने मधेसी मोर्चाका सांसद सात जना मात्र भएको दाबी गर्दै मधेसमा जनमत लिएका काँग्रेस, एमाले र माओवादी केन्द्रका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेको संविधानमा राष्ट्रियतालाई आँच पुग्ने गरी गर्न खोजिएको संशोधन प्रस्तान अस्वीकार्य भएको बताए ।
सभामा पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य नेम्बाङ, सत्यनारायण मण्डलगायतका नेता अभियानमा सहभागी थिए ।
झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता ¥यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी आएका थिए । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।