काठमाडौँ, २२ फागुन । निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
साथै आयोगले मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा सरकारी सवारी साधन तथा राजनीतिक काममा निजी सवारी साधन प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र जिल्लाको सदरमुकामसम्म प्रयोग गर्न पाउने तथा निर्वाचन प्रचार–प्रसारमा उनीहरू संलग्न नहुने व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले सांसदलाई कुनै दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि सरकारी सवारी साधन एवम् सरकारी साधन स्रोत प्रयोग नगर्ने व्यवस्था हुन व्यवस्थापिका–संसद् सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आयोगका अनुसार विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेसागत सङ्घ सङ्गठनहरूको पूर्व निर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिनेसमेत निर्णय भएको छ ।
“लोक सेवा आयोग तथा न्याय सेवा आयोगले सञ्चालन गरेको पदपूर्ति प्रक्रिया निरन्तर सञ्चालन हुनेछ । सोबाहेक लोक सेवा आयोगको अध्यक्षता वा प्रतिनिधित्व गरी सञ्चालन भएका विभिन्न सङ्घ संस्थाका (राजनीतिक नियुक्ति बाहेक) कर्मचारीको पदपूर्ति प्रक्रियालाई निरन्तरता दिन सहमति दिने तर अन्र्तवार्ताबाट मात्र कर्मचारी छानिने भएमा त्यस्तो पदपूर्ति कार्य निर्वाचन अवधिभर रोक्नेसमेत निर्णय भएको छ”–आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Comments