केन्द्रीय प्रतिनिधिकै कारण पत्रकार महासंघ रसुवामा दुई वटा महासंघ

काठमाडौं १८ फागुन
सबै पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघ रसुवा शाखामा पत्रकार महासंघकै दुई वटा समानन्तर समिति बनेका छन् । सदस्यतादेखि नेतृत्व चयनमा पनि कुनै विवाद नरहेको रसुवामा केन्द्रिय प्रतिनिधिको बेइमानीले दुई वटा महासंघ बन्न पुगेको हो । केन्द्रीय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्न सानो पहल गरेको भएपनि विवादरहित कार्यसमिति चयन हुनेमा चौतारीसँग मिलेर सेन्टर र युनियनलाई पाखा लगाउने नियत राखेपछि समानन्तर कमिटी बनेका छन् ।
रसुवामा चौतारी समर्थक मात्रै रहेको एउटा महासंघ बनेको छ भने युनियन, सेन्टर तथा स्वतन्त्र पत्रकार सम्मिलित अर्को महासंघ बनेको छ ।
नेपाल पत्रकार महासंघले केन्द्रीय प्रतिनिधिका रुपमा निरञ्जन पौडेल खटिएका थिए । रसुवामा प्रेस सेन्टर र प्रेस युनियनले प्रेस चौतारीलाई नेतृत्व सुम्पेर सबैको साझा कार्यसमिति समिति बनाउने र केन्द्रीय पार्षद तथा प्रदेश प्रतिनिधिमा पनि सबैलाई समेटेर जाने कुरा भईरहेको अवस्थामा चौतारीले एकलौटी आफ्नो प्यानल घोषणा गरेको थियो ।
सहमतिको विषय अगाडी बढीरहेको अवस्थामा चौतारीले एकलौटी आफ्नो प्यानल घोषणा गरेपछि निर्वाचन अधिकृत नारायण प्रसाद देवकोटाले निर्वाचन नहुने भयो भन्दै बाहिरिएका थिए । मंगलबार साँझ भईसकेकाले रात परेको र अर्को दिन निर्वाचनमा जाउ भन्दै सेन्टर र युनियनको आग्रहलाई लत्याउँदै चौतारीले एकलौटी 
सर्वसम्मत भएको भन्दै आफ्नो प्यानललाई विजयी घोषणा गरेको थियो । उक्त प्यानलमा चौतारी बाहेक कसैलाई पनि समावेश गरिएको छैन ।
लत्तगै, प्रेस सेन्टर, प्रेस युनियन, स्वतन्त्र पत्रकार लगायतका पत्रकारहरु बसेर आधिकारिक रुपमा महासंघ शाखाको नयाँ कार्यसमिति चयन गरेका थिए ।
रसुवामा ४५ जना पत्रकार महासंघको सदस्य रहेकोमा चौतारी समर्थक १८ जना, सेन्टर समर्थक १५ जना, युनियन समर्थक ६ जना र बाँकी कतै पनि नखुलेका स्वतन्त्र पत्रकार रहेका छन् । सेन्टर र युनियनले सर्वसम्मत नेतृत्व चयन प्रस्तावलाई चौतारीले आफ्नो खुसी गरेपछि नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक रसुवामा समानन्तर कमिटी बन्न पुगेको छ ।
 केन्द्रीय प्रतिनिधिले समन्वयको भूमिका निर्वाह गर्नुको सट्टा चौतारीलाई समर्थन गरेपछि वातावरण बिग्रिएको सेन्टर र युनियनले आरोप लगाएका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।