फटाई कामदेखि ठगसम्म पाइएपछि दुई महिलाको राजदूत सिफारिस खारेज

काठमाडौं १६ फागुन 
वैदेशिक रोजगारीका नाममा फटाईदेखि ठगसम्मका कार्य गरेको प्रमाण बाहिर अाएपछि सरकारले दुई जना राजदूतमा सिफारिस महिलाको नाम फिर्ता लिएको छ । मेनपावरमा संलग्नलाई राजदूतमा सिफारिस गरेको र उनीहरुको चरित्र पनि ठिक नभएको भन्दै चौतर्फी विरोध बढेपछि सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिने निर्णयमा पुगेको हो ।
मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशा लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो। यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारिस फिर्ता लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश दाहालले केही दिन अगाडी नाम उल्लेख नगरी कांग्रेस र फोरमबाट सिफारिसको नाम खारेजीको अवस्थामा रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।
विभिन्न देशमा १४ राजदुत सिफारीस भएको तेस्रो दिन नै सरकारले युएईका लागि सिफारीस भएकी लामा र ओमनका लागि सिफारीस ढकालको भने फिर्ता लिएको हो ।
सिफारीस निर्णयको तेस्रो दिन बुधबारै कांग्रेस सभापति शेरबहादुर देउवाले लामाको नाम फिर्ता लिन परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई आफ्नै निवासमा बोलाएर निर्देशन दिएको समेत बताइन्छ ।
मन्त्रिपरिषद कार्यालयले संसदीय सुनुवाईका लागि लामा र ढकालबाहेक अन्य १२ जनाको नाम पठाउने तयारी गरेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।