काठमाडाैं ११ फागुन । नेपाल सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको छ । नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थानीय निर्वाचन मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत्लगायत क्षेत्रको विकासमा सघाउन चीन तयार रहेको बताएकी छन् । 
राजदूत होङले बूढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार गरेको शिष्टाचार भेटमा निर्वाचन मिति घोषणामा चीनको प्रसन्नता व्यक्त गरेकी हुन् । भेट नेपाल–चीन आपसी सहयोग र सद्भावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा केन्द्रित रहेको अन्नपूर्ण पोष्टले खबर छापेको छ । । 
भेटमा देउवाले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले स्थानीय निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुने र यसले तराईकेन्द्रित दलको भावनासमेत सम्बोधन हुने विश्वास चिनियाँ राजदूतलाई दिलाए । देउवाले नेपालको विकासमा छिमेकी मुलुक चीनको ठूलो सहयोग आवश्यक रहेको धारणा राजदूत होङसमक्ष व्यक्त गरेका थिए । 
‘नेपालको विकासमा चीन र चिनियाँ जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको सभापति देउवाले हार्दिक सराहना गर्नुभएको थियो’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।