काठमाडौं ११ फागुन
आरआर क्याम्पस प्रशासनले नियम विपरीत मतदाता नामावली प्रकाशित गरेको विरोधमा विभिन्न विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी (प्रचण्ड),अखिल क्रान्तिकारी वैद्य, नयाँ शक्ति विद्यार्थी यूनियन र समाजवादी विद्यार्थी फोरमले  काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार तालाबन्दी गरेका हुन् ।
नियम संगत भर्ना भएका थुप्रै विद्यार्थीको नाम हटाइएको र विद्यार्थी संख्या भने बढाएर नामावली प्रकाशन गरिएको ती संगठनहरुले बताएका छन् । अवैध रुपमा प्रशासनले विद्यार्थीको नाम घटबढ गरेको समेत उनीहरुले बताएका छन् ।
आज (बुधबार) मतदाता नामावली प्रकाशित हुनुपर्नेमा नामावली नियम विपरित हिजै प्रकाशित गरेको र भर्ना भएकाहरुलाई हटाइएको र अवैध विद्यार्थी भर्ना भएको पाइएपछि  तालाबन्दी गरेको नेकपा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी (प्रचण्ड) का तर्फबाट स्ववियू सभापति पदका आकांक्षी रहेका ध्रुव वाग्लेले  बताए ।
‘यहाँ विद्युत नै जाँदैन, विद्युत गयो भन्ने बहाना बनाएर मतदाता नामावली बाहिर प्रिन्ट गरियो। त्यसक्रममा धेरै हेरफेर भयो,’ उनले भने,- भर्ना भएका र नियमित क्याम्पस आउने विद्यार्थीको नाम काटेर फर्जी विद्यार्थीको नाम हालियो ।’  
भर्ना ढड्डामा भएको नामावली अनुसार मतदाता नामावली नसच्याइए तालाबन्दी जारी रहने पाँच विद्यार्थी संगठनले बताएका छन् । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।