काठमाडौं ७ फागुन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा र बालुवालगायतका सामग्रीको निकासी खुल्ला गर्न कसैलाई पनि दबाब तथा निर्देशन नदिएको जनाएको छ ।
विगत केही दिनदेखि चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा र बालुवालगायतका सामग्रीको निकासी खुल्ला गर्न लागेको र उक्त विषयमा विभिन्न निकायलाई प्रधानमन्त्रीले दबाब दिएको भन्ने आशयका केही सञ्चारमाध्यममा आइरहेका समाचारप्रति कार्यालयले आपत्ति जनाउँदै कुनै पनि किसिमका दबाब र निर्देशन नदिएको स्पष्ट पारेको हो ।
नेपाल सरकार कार्यविभाजन नियमावली, २०७२ समेतले तोकेको जिम्मेवारी अनुरुप सम्बन्धित मन्त्रालयले नै विश्लेषण गरी राय ठहर साथ प्राप्त भएको विषयमा छलफल भइरहेको सन्दर्भमा प्रधानमन्त्रीबाट कही कसैलाई कुनै दबाब वा निर्देशन दिएको भन्ने कुरा सत्य नभएकाले त्यसबाट भ्रममा नपर्नु हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बन्धित सबैमा कार्यालयका सहसचिव प्रवक्ता दामोदर रेग्मीले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।
केही मिडियामा प्रधानमन्त्री आफैंले चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा र बालुवालगायतका सामग्रीको निकासी खुल्ला गर्न निर्देशन दिएको भन्दै समाचार आएपछि प्रधानमन्त्री कार्यालय विज्ञप्ति जारी गरेर त्यस्तो नभएको स्पष्टोक्ति दिएको हो ।