पर्सा, १ फागुन । नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानलाई असफल गरी प्राप्त गरेका सबै उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले लागेकोे आरोप लगाएका छन् ।
प्रेस मञ्चले अाइतबार वीरगन्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधनको विरोध गरी संविधान कार्यान्वयनमा बाधा सिर्जना गर्दै मुलुकलाई अन्योलतातर्फ धकेल्न एमालेका नेता लागिपरेकाे बताए ।
संसद्मा दर्ता रहेको संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन नहुने र तोकिएको समयमा तीनवटै तहको निर्वाचन नभए संविधान असफल हुने महतोले बताए । “परिमार्जनसहित संविधान संशोधन नभए मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन,” उनले भने ।
अध्यक्ष महतोले तीन दिनसम्म वीरगन्जमा बसेको सद्भावना पार्टीको विस्तारित बैठकले गरेका निर्णयलाई सार्वजनिक गरे ।