काठमाडौँ, २ फागुन । सरकारले प्रजातन्त्र दिवस र निर्वाचन आयोगको स्वर्ण महोत्सवको अवसर गरेर हुलाक सेवा विभागमार्फत मतदानमा लामबद्ध मतदाताहरुको तस्वीर सहितको खाम प्रकाशनमा ल्याउने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा प्रकाशनमा ल्याउन लागेको खाममा नेपालको संविधान, २०७२ अंकित हुलाक टिकटको टाँस गरी माननीय सूचना तथा सञ्चार मन्त्रीज्यूले टाँचा लगाउने कार्यक्रम समेत तय गरेको छ ।
सञ्चार मन्त्रालयको संयोजनमा रहेको प्रचारप्रसार उप–समितिले यही फागुन ७ गतेका दिन मनाइने ६७ औं प्रजातन्त्र दिवसलाई भव्य र व्यवस्थित बनाउने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिए ।
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको संयोजकत्वमा आज बसेको प्रचार प्रसार उपसमितिको बैठकले दिवसलाई उच्च प्राथमिकताका साथ मनाउने निर्णय गरेको छ ।