नेपाल प्रहरीको महानिर्देशक (आइजी) नियुक्तिको विषयमा कांग्रेसभित्र नै मारामारको स्थिति पैदा भएको छ । पार्टी सभापति शेरबहादुर देउवा बरियता क्रममा तेस्रोमा रहेको डिआइजी जयबहादुर चन्दलाई बनाउने लाइनमा छन् भने गृहमन्त्री विमलेन्द्र निधि बरियतामा एक नम्बरमा रहेका डिआइजी नवराज सिलावाललाई आइजी बनाउने पक्षमा छन् । यहीँ विवादले कांग्रेसभित्र रडाको मच्चिएको छ ।
सभापति देउवा तथा उनकै पार्टीका उपप्रधान तथा गृहमन्त्री निधिबीच तीव्र मनमुटाव हुँदा बिहीबार बस्ने मन्त्रीपरिषदको नियमित बैठक समेत प्रभावित बनेको छ । आजकाे मन्त्रीपरिषद बैठक नै स्थगित भएको छ ।
त्यसो त, सोमबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले जुनसुकै अवस्थामा पनि तेस्रो वरीयताका डीआईजी जयबहादुर चन्द आईजीपी बन्नुपर्ने धारणा राखेपछि निधिले पहिलो वरीयतामा रहेका डीआईजी नवराज सिलवाललाई वञ्चित गर्दा घोर अन्याय हुने भन्दै न्याय र पारदर्शिता प्रदर्शन गर्न सभापतिसँग आग्रह गरेका थिए ।
आक्रोशित देउवाले चन्दलाई आईजीपी नबनाउने हो भने गृहमन्त्रीबाट निधि स्वयं हट्नुपर्ने प्रतिक्रिया दिएपछि निधिले अन्यायको साटो मलाई आफ्नो पदत्यागको विकल्प मञ्जुर छ भन्दै देउवा निवासबाट बाहिरिएका थिए ।
प्रहरी प्रमुख नियुक्तिकै विषयमा बुधबार देउवा, निधि र कंग्रेसकै अर्का मन्त्री डा।प्रकाशशरण महतबीच पनि वार्ता भएको थियो । दुई नेताले आ आफ्ना अडान कायम नै राखे पनि आवश्यक समझदारी निर्माणपछि मात्र यसबारे निर्णयमा भने उनीहरु सहमत देखिएका थिए ।
फागुन ३ मा आईजीपी उपेन्द्रकान्त अर्यालले सेवाहदका कारण अवकाश लिएपछि हाल डीआईजीको पहिलो नम्बर वरीयतामा रहेका सिलवाल र तीन नम्बरमा रहेका चन्द प्रतिस्पर्धीका रूपमा देखा परेका छन् ।
चन्द सुदुरपश्चिमबासी भएकाले सुदुरपश्चिमेली नेताहरुले चन्दलाई आइजी बनाउने लाइनको लबिंग तिब्र पारेका छन् । यता, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र नवराज सिलवालाई नै आइजी बनाउनुपर्ने पक्षमा छ भने गृहमन्त्री समेत त्यहीँ लाइनमा छन् । त्यसो त गृहमन्त्री र अहिलेका आइजी उपेन्द्रकान्त अर्यालबिच सम्बन्ध राम्रो छैन । तर, नवराज सिलवाललाई आइजी बनाउन भने यी दुई समेत एक ठाउँमा उभिएका छन् ।
यद्यपी, नयाँ आइजी को हुने भन्नेबारे भने अझै टुंगो लागेको छैन ।