काठमाडौं २३ माघ

तराईमा सिके राउतले देश टुक्राउने विभिन्न गतिविधि गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको छ । अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो समेत खुला गरिदिएको छ । यसअघि उनी देश टुक्राउने गतिविधि गरेकै कारण पक्राउ परेपनि छाडिएका थिए । यो पटक भने उनका विरुद्ध प्रधानमन्त्री कठोर बन्ने संकेत दिएका छन् ।
‘हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु छैन । देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन । अघिल्लो सरकारको गल्तीका कारण नै यस्तो प्रवृत्तिले टाउको उठाएको हो,’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले यसपटक गम्भीर रुपमा सोचेर र सबैसँग राय लिएर यो कदम चालिएको भन्दै देश टुक्राउँछु भन्नेलाई छुट दिइन्छ भने त्यो राज्य हुनै नसक्ने समेत जिकिर गरे । उनले भने, ‘यो निकै सम्वेदनशील सवाल हो । यसमा सरकार हट्दैन, कडा रुपमा अघि बढ्छ । यसमा सरकारले सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।’
प्रधानमन्त्रीले निर्वाचनबारे दुविधा र भ्रम पाल्नुपर्ने कुनै जरुरी नभएको बताए । उनले सरकार पहिला स्थानीय र त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गर्न गम्भीर रहेको भन्दै यो बीचमा निर्वाचन सम्बन्धि कानूनहरु बनिसकेको र सरकार गम्भीर नभएको भए यी सबै कानून पारित हुन सम्भव नभएको बताए । उनले २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गर्न सम्भव रहेको भन्दै आउने बैशाख, जेठभित्र स्थानीय तहको निर्वाचन गर्न पुरै सम्भव रहेको बताए । ‘जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि आउने मंसीरमा प्रादेशिक र संघीय तहको निर्वाचन गर्न सम्भव छ,’ उनले भने ।
Comments