काठमाडौं २० माघ
सरकारमै सहभागी मुख्य घटक तथा व्यवस्थापिका संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस अझै पनि स्थानिय निकाय वा स्थानिय तहको निर्वाचन भन्नेमा दोहोरो भूमिका खेलिरहेको पाइएको छ ।
सरकारमै सहभागी दलले निकायको निर्वाचन गर्ने कि तहको गर्ने भन्नेमा टुंगोमा पुग्नुपर्नेमा कांग्रेसले दोहोरो अर्थ लाग्ने निर्णय गर्दै तहको निर्वाचन नगरेर निकायमा फर्कन सहयोग पुग्ने गरी भूमिका खेलिरहेको पाइएको हाे ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारी बैठकले रानै संरचनामा गरिए मात्रै स्थानीय निर्वाचन सुनिश्चित हुने निष्कर्ष निकालेर यसअघि तहको निर्वाचन गराउने निर्णयबाट पछि फर्कन खोजेको छ ।
धेसी मोर्चा सहमत भएमा भने स्थानीय तहकै निर्वाचनका लागि पनि जान सकिने नत्र निकायको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड छ ।
माओवादी/एमाले तहकै पक्षमा
नेपाली कांग्रेस निकायको निर्वाचन गराउने पक्षमा रहेपनि प्रतिपक्षी एमाले र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र भने तहकै निर्वाचन गराउने पक्षमा उभिएका छन् । मधेसी मोर्चाले भने संविधान संशोधनपछि निकाय भए पनि तहको भएपनि निर्वाचन गराउन सकिने जनाएको छ । कांग्रेसले भने तहको भन्दा पनि निकायको निर्वाचन गराउनुपर्ने लबिंगमा छ । यसअघि प्रमुख दलहरुले स्थानीय तहको निर्वाचन गर्ने र निर्वाचन सम्बन्धी विधेयक पारित गरेसँगै १५ माघ अगाडी नै निर्वाचन घोषणा गर्ने सहमति समेत जनाएका थिए ।
के हो निकाय र तह ?
नयाँ संविधान सँगै देश संघीय संरचनामा गएको छ । जसअन्तर्गत अब गाविस नभएर गाउँपालिका  रहनेछ । जुन गाउँपालिकाकै आधारमा गरिने निर्वाचनलाई तहको निर्वाचन भनिएको हो भने पुरानै संरचना अर्थात गाविसको आधारमा गरिने निर्वाचनलाई निकायको निर्वाचन भनिएको हो । स्थानीय तह निर्धारण सम्बन्धी बनेको आयोगले सरकारलाई प्रतिवेदन समेत बुझाएपनि सरकारले पुनः केही विवाद देखिएकाले फिर्ता गरेको छ ।गाउँपालिकालाई सविधानले अधिकार सम्पन्न बनाएको छ भने गाविस केन्द्रिकृत राज्यको अवधारण अन्तर्गत सेवा सुविधामा पनि निर्भर छ ।
एमाले र माओवादीले संविधान कार्यान्वयनका लागि पनि तहको निर्वाचन गराउनुपर्ने बताउँदै आएपनि कांग्रेसले तहको निर्वाचन गर्दा तयारी नपुग्ने भएकाले अर्को पटकदेखि तहकै निर्वाचन गर्ने तर अहिलेलाई पुरानै संरचनामा गर्नुपर्ने तर्क गर्दै आएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।