काठमाडौँ, १९ माघ । खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ । बुधबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमले बताएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

मुल्य वृद्धि गरिए पनि निगम ग्यासमा अझै घाटामा नै रहेको बताइएको छ । ‘यसभन्दा अघि पनि ७८ रूपैयाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ, ’ निगमले भन्यो ।

यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत्  छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।